विपद् व्यवस्थापनमा सरकारको सक्रियता सामाजिक सञ्जालमा मात्र देखियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्।
सोमबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सामाजिक सञ्जालमा देखिएजस्तो सरकारी सक्रियता प्रभावित क्षेत्रमा नदेखिएको बताए। उनका अनुसार राहत सामग्री एकै ठाउँमा थुप्रिए पनि वास्तविक पीडितसम्म पुग्न सकेको छैन।
स्थानीय तहसँग पर्याप्त समन्वय नहुँदा प्रभावित नागरिकको अवस्था, तथ्यांक र आवश्यकताबारे सरकारलाई यकिन जानकारी हुन नसकेको उनको भनाइ छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै राईले सामाजिक सञ्जालमा देखाइएको अवस्था र भूगोलको वास्तविकताबीच फरक रहेको दाबी गरे।
उनले प्रभावित क्षेत्रको तत्काल तथ्यांक संकलन गरी सम्पर्कमा रहेका, सुरक्षित स्थानमा पुगेका, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको यकिन विवरण तयार गर्न सरकारलाई सुझाव दिए। स्थानीय तह, सुरक्षा निकाय र नागरिक प्रतिनिधिलाई समेटेर संयुक्त रूपमा विपद् व्यवस्थापन अघि बढाउनुपर्ने उनले बताए।
राईले शव व्यवस्थापनलाई पनि गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरे। शव सुरक्षित राख्ने उपकरण तथा पूर्वाधारको अभाव भए विज्ञसँग परामर्श गरी उपयुक्त विधि अपनाउनुपर्ने उनको भनाइ छ।
बैठकले विपद्को समयमा सरकारलाई सहयोग गर्न सबै दललाई आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए। कांग्रेसले आफ्ना सांसदहरूलाई आवश्यकता परेको अवस्थामा मात्र प्रभावित क्षेत्रमा जान र अनावश्यक भीडभाड नगर्न निर्देशन दिएको छ।
सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्नकै लागि प्रभावित क्षेत्रमा जाने प्रवृत्ति रोक्न सांसदहरूलाई आग्रह गरिएको राईले बताए। कांग्रेसले बाढीपीडितको उद्धार तथा राहतका लागि आवश्यक टोलीसमेत परिचालन गरिसकेको जानकारी उनले दिए।





प्रतिकृया दिनुहोस्