August 30, 2026, Sunday
२०८३ भाद्र १४

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। बाढीको तीव्र बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्।

प्राधिकरणको रिपोर्टअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ शव फेला परेका छन्।

२ हजार ४९८ जना सम्पर्कविहीन

बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना छन्। तीमध्ये नेपाली सेनाका ४५ र नेपाल प्रहरीका २७ जना रहेको रिपोर्टमा उल्लेख छ।

यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदारसमेत सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी पनि छन्।

स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ जना र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।

झन्डै २० हजार सुरक्षाकर्मी परिचालन

विपद्पछि उद्धार तथा राहतका लागि देशभरबाट १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको रिपोर्टमा उल्लेख छ।