पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाण्डौ पुस ३(ई-रैवार)
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा बिहीबार उच्च अदालतमा सुनुवाइ हुँदै छ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ। यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो। बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्ने छ।
उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन्। उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने हुन्छ। उच्चको उक्त आदेशविरुद्ध महरा सर्वोच्च भने जान पाउने छन्।
जिल्ला अदालतमा पनि न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।
संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो। सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ।
बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।





प्रतिकृया दिनुहोस्