August 30, 2026, Sunday
२०८३ भाद्र १४

माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन

काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको हो। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा टोली परिचालन गरिएको हो।

चिनियाँ हेलिकप्टरमार्फत टोली सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धार कार्य अघि बढाउनेछ। संयुक्त टोलीले सुरुङभित्रको अवस्था र उद्धारको सम्भावनाबारे प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ।

प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा बोलाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।