August 29, 2026, Saturday
२०८३ भाद्र १३

रसुवा बाढीपीडितका लागि एकै दिन जुट्यो ३८ करोड ५६ लाख सहयोग

काठमाडौँ । रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम हस्तान्तरण गरेका हुन्।

कोषमा सूर्य नेपालले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, हिमालयन बुलियनले १ करोड १ लाख, एग्रो थाईफुड्सले १ करोड र एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स, उद्योगी विजयकुमार शाह, स्याकार ट्रेडिङ र डब्लूडब्लूएफ नेपालले जनही १ करोड रुपैयाँ सहयोग गरेका छन्। राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ योगदान गरेका छन्।

मोरङ अटो वर्क्सले १ करोड ११ लाख तथा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले जनही १ करोड रुपैयाँ सहयोग गरेका छन्।

नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

सीएएस ट्रेडिङ हाउस र सिल्भर लाइनिङले जनही १ लाख ११ हजार तथा अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ योगदान गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार शुक्रबार मात्रै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ जम्मा भएको हो।