October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

तिब्बततर्फ पुनः ड्याम फुट्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह

काठमाडौं । तिब्बततर्फ पानी जमेर बनेको ताल पुनः फुटेको सूचना आएपछि नेपाल प्रहरीले नदीको तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

शुक्रबार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएपछि प्रहरीले उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई सतर्क रहन तथा सुरक्षित स्थानतर्फ जान आग्रह गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षबाट आएको हो। त्यसलगत्तै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्कुलर गरिएको उनले बताए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सम्भावित जोखिमबारे हेलिकप्टरबाट हवाई निरीक्षणसमेत गरिएको छ। यसअघि बुधबार तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो।

ताल फुटेपछि थप बाढीको जोखिम बढेकाले चीनले तिब्बततर्फको उद्धार अभियानसमेत स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा सुरक्षित स्थानमा हटाइएको छ।

बिहीबारसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको थियो।