October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

भोटेकोशी बाढीको असर भारतसम्म : सात शव फेला, चीनमा उद्धार कार्य स्थगित

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको असर भारतको सीमावर्ती क्षेत्रमा समेत देखिन थालेको छ। बाढीका क्रममा बगेका हुन सक्ने आशंका गरिएका सातवटा शव भारतको उत्तर प्रदेशमा फेला परेका छन्।

बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशको महराजगञ्जमा चार र कुशीनगरमा तीन गरी सात शव फेला परेका हुन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। अहिलेसम्म उनीहरूको पहिचान हुन सकेको छैन।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेपछि मोटरबोटको सहायतामा बाहिर निकालेको जनाइएको छ। शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको समाचारमा उल्लेख छ।

नेपालमा आएको भीषण बाढीका क्रममा नदीमा बगेका शव तीव्र बहावसँगै भारततर्फ पुगेको हुन सक्ने आशंका गरिएको छ।

यसैबीच, तिब्बतको सीमा क्षेत्रमा आएको भीषण पहिरोपछि बेपत्ताको खोजी तथा उद्धारमा जुटेको चीनले बाढीको जोखिम बढेपछि उद्धार कार्य अस्थायी रूपमा स्थगित गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोबाट आएको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेपछि पानी उद्धार टोली परिचालित क्षेत्रमा बग्न थालेको हो। जोखिम बढेपछि सबै उद्धार टोलीलाई हालकै स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।

यसअघि घटनास्थलमा पुगिसकेका आपत्कालीन टोलीलाई समेत बाढीको सम्भावित जोखिमका कारण करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको सीसीटीभीले जनाएको छ।

भीषण पहिरोका कारण उक्त क्षेत्रमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएको छ। प्रतिकूल मौसम र बाढीको जोखिमका कारण बेपत्ताको खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

माथिल्लो त्रिशूलीको सुरुङबाट उद्धार जारी

उता, माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदुर तथा स्थानीयको उद्धार कार्य नेपाली सेनाले जारी राखेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार नेपाली सेनाले शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धार सुरु गरेको हो। बिहान साढे १० बजेसम्म दुई जनालाई सुरुङबाट बाहिर निकालिएको छ।

सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन गर्न खोजी भइरहेको छ। सेनाले प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेकाको खोजी तथा उद्धार कार्य जारी राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बिहीबारसम्म सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार भइसकेको जनाइएको छ।