भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौं । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्।
निर्देशनअनुसार भदौ १३ गतेदेखि हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ। स्थगित परीक्षाको नयाँ तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनिएको छ।
त्यस्तै, भदौ १२ गते निर्धारित परीक्षा विभिन्न कारणले दिन नसकेका परीक्षार्थीका लागि छुट्टै व्यवस्था गरी पुनः परीक्षा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।
प्राकृतिक विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्नसमेत मन्त्री पोखरेलले आग्रह गरेका छन्।
विपद्बाट प्रभावित विद्यार्थी र अभिभावकसँग विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरण गर्न निर्देशन दिइएको छ।
प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ।
मन्त्री पोखरेलले विपद्को कठिन समयमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई प्राथमिकतामा राखी आवश्यक निर्णय लिन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका छन्।





प्रतिकृया दिनुहोस्