रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९७७ जना अझै बेपत्ता छन्।
मन्त्रालयका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव फेला परेको छ।
जिल्लागत विवरणअनुसार नवलपरासी पूर्वमा ११०, गोरखामा ४४ (विभिन्न मानव अङ्गसहित), नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
बाढीमा परी ७३ जना घाइते भएका छन्। तीमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
९७७ जना अझै बेपत्ता
मन्त्रालयका अनुसार बेपत्ता हुनेमा विदेशी नागरिकदेखि सुरक्षाकर्मी, स्थानीय तथा सरकारी कर्मचारीसम्म छन्।
बेपत्ताको विवरणअनुसार विदेशी नागरिक ५१७ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली १२७ जना र सुरक्षाकर्मी ८६ जना छन्। सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।
त्यस्तै, रसुवाका १६१ र मकवानपुरका ६६ जना स्थानीय बेपत्ता छन्। भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना कर्मचारी पनि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
९ हजार ४०५ सुरक्षाकर्मी परिचालन
विपद् प्रतिकार्यका लागि देशभर ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
मन्त्रालयका अनुसार नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरी बलका १ हजार ८४४ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।
उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्।



प्रतिकृया दिनुहोस्