सुदूरपश्चिमका भैँसी चीन र भियतनामसम्म

डोटी पुस ३(ई-रैवार)
सुदूरपश्चिमको पहाडबाट भैँसी निकासी हुनथालेको डेढ दशक नाघ्यो । सुरुवातका बर्षहरुमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्कर भैँसीहरु तस्करी गर्दथे ।
यसरी निकासी हुने भैँसीका लस्कर अझै रोकिएका छैनन् । बरु त्यसलाई अहिले बैधानिक बाटोमा डो¥याउने कोसिस गरिएको सरोकारवालाहरु बताउछन् । ‘अहिले उनीहरुले बैधानिक कारोबार गरिहेका छन्,’ सुदूरपश्चिम प्रदेश, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. मदनसिँह धामी भन्छन्,‘हाल यस प्रदेशमा नौ सय ६१ जनाले व्यवसायिक रुपमा दर्ता भएर भैँसीको कारोबार गरिरहेका छन् ।’
यसरी वर्षौदेखी भईरहेको भैँसीको तस्करी÷निकासी दुग्धजन्य कारोबारका लागि नभएर मासुजन्य कारोबारका लागि हो । ‘नेपाली बजारमै भैँसीको मासुको माग ठुलो छ,’ भैँसी कारोबारमा संलग्न कैलालीको अत्तरिया व्यवसायी बालकृष्ण भट्टराईले भने,‘यसैले हामीलाई माग अनुसारको आपूर्ति भ्याउनै कठिन छ ।’
नेपालमै आपूर्ति नभईरहेको अवस्था भएपनि यहाँका भैँसीको मासु चीन र भियतनामसम्म पुग्ने गरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका डा. धामीले बताए । उनले भने, ‘चिनियाँ नागरिकहरुले नेपालमै प्रशोधन केन्द्र खोलेर चीनमा नेपाली भैँसीको मासु पठाईरहेका छन् । जो भियतनामसम्म पुग्छ ।’
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीका भैँसीहरु निकासी भएका छन् । जसमा करिब १२ हजार भन्दा बढी संख्यामा भैँसी निर्यात भएको तथ्याङ्क छ । ‘मासिक एक हजारका हाराहारीमा यहाँका भैँसी निकासी भईरहेको तथ्यांक छ,’ निर्देशक डा. धामीले भने ।
अन्तर्राष्ट्रिय बजारबाट तीब्र माग भएको भैँसीको उत्पादनलाई व्यवसायिक बनाउन सके मनग्य आम्दानी गर्नसकिने अवस्था रहेको कारोबारीहरु बताउछन् । ‘अन्तर्राष्ट्रिय बजारमा मासुजन्य उत्पादनमा बढी माग भनेकै भैँसीको छ,’ भैँसीको कारोबारी भट्टराई भन्छन्,‘तरहामीकहाँ भैँसीलाई दुधकै लागि मात्र पाल्ने चलन छ । यसलाई मासुका लागि पनि भनेर उत्पादन गरे ठुलो आम्दानी गर्नसकिन्छ ।’
सोही कुरालाई स्विकार्दै निर्देशक धामीले प्रदेश सरकारमा भैँसी उत्पादन प्रबद्र्धनका कार्यक्रम अघि सारिएको बताए । उनले भने,‘सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय माग भएको र मुल्य पनि पाईने उत्पादनमा हामीले बढावा दिने योजना सार्नुपर्छ । तब आर्थिक विकास सम्भव हुन्छ ।’ चीनमा मात्रै खर्बौको भैँसीको माग भईरहेको उनले बताए । ‘चीनजस्तो जनसंख्या बाक्लो भएको मुलुकले नेपालबाट जतिपनि भैँसी खपत गर्नसक्छ,’ उनले थपे ।





प्रतिकृया दिनुहोस्