मानसरोवर जाने तीर्थयात्री बोकेका ४० बस सम्पर्कविहीन छन् : यातायात व्यवसायी राष्ट्रिय महासंघ

काठमाडौँ । रसुवा-त्रिशूली करिडोरमा आएको बाढीले सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीबाट यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति पुगेको तथा चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीसाधनमा पुगेको क्षतिको यकिन विवरण अझै प्राप्त भइनसकेको बताए।
उनका अनुसार बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न महासंघको आपतकालीन कार्यसमिति बैठकले केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
सिटौलाका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात छ। ती बसमा सवार यात्रुसहित करिब ५० जना कर्मचारी पनि सम्पर्कविहीन रहेको उनले बताए।
त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन तथा ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि जानकारी प्राप्त हुन नसकेको सिटौलाले बताए।
न्युज एजेन्सी नेपालबाट



प्रतिकृया दिनुहोस्