October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३३२ पुग्यो, २४१ जनाको हवाई उद्धार (सूचीसहित)

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ।

नेपाल प्रहरीले बिहीबार दिउँसो ३ः५० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३३२ जनाको शव फेला परेको पुष्टि भएको हो।

यसअघि दिउँसो २ः३० बजे सार्वजनिक विवरणमा मृतकको संख्या २८९ रहेको थियो। खोजी कार्य तीव्र पारिएसँगै नदी तटीय क्षेत्रबाट थप शव फेला परेपछि मृतकको संख्या बढेको हो।

फेला परेका शवको पहिचान खुलाउने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्रभावित क्षेत्र तथा तल्लो तटीय नदी किनारमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।

यसैबीच, बाढी प्रभावित विभिन्न स्थानबाट २४१ जना नेपाली नागरिकको हवाई उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा विभिन्न स्थानबाट उद्धार गरिएका २४१ जना नेपाली नागरिकलाई सुरक्षित रूपमा राखिएको छ।

उद्धार गरिएकामा महिला, पुरुष तथा बालबालिका रहेका छन्। उनीहरूका लागि तालिम केन्द्रमै आवश्यक राहत तथा व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ।