विपद्का बेला शवबाट सुन लुट्नेदेखि भ्रम फैलाउनेसम्म, प्रहरीको निगरानीमा

काठमाडौं । बाढीको विपत्तिका बीच शवबाट सुन लुट्ने, राहत सामग्री तथा ग्यास सिलिन्डर खोसाखोस गर्ने र त्रास फैलाउने गतिविधि गर्नेहरू प्रहरीको निगरानीमा परेका छन् ।
बाढीले बगाएको शवबाट सुन लुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता अमानवीय गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार चितवनमा नारायणी नदीमा बाढी पसेपछि ग्यास सिलिन्डर खोसाखोस भएको दृश्यसमेत सार्वजनिक भएको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार शवबाट सुन लुट्ने र सिलिन्डर तानातान गर्ने व्यक्तिहरू प्रहरीको ‘नोटिस’मा आइसकेका छन् ।
अहिले प्रहरीको प्राथमिकता घाइतेको उद्धार तथा उपचार र मृतकको शव पहिचानमा रहेकाले तत्काल त्यस्ता गतिविधिमा कारबाही गर्न नसकिएको उनले बताए । उद्धार तथा व्यवस्थापनका प्राथमिक काम सकिएपछि संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही अघि बढाइने उनको भनाइ छ ।
‘कुनै पनि अमर्यादित तथा अमानवीय कार्यले छुट पाउने छैन,’ काफ्लेले भने । उनका अनुसार विपद्को संवेदनशील अवस्थालाई भ्युज बटुल्ने माध्यम बनाउने, भ्रमपूर्ण सूचना फैलाउने तथा जनजीवनमा भय र त्रास सिर्जना गर्ने गतिविधिलाई समेत प्रहरीले निगरानी गरिरहेको छ ।
‘मिसइन्फर्मेसन–डिसइन्फर्मेसनदेखि भाइरल हुन विभत्स दृश्य अपलोड गरिएका सबै कुरा हामीले बुझिराखेका छौँ,’ उनले भने ।



प्रतिकृया दिनुहोस्