October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १७७ पुग्यो, ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले अहिलेसम्म १७७ जनाको शव फेला परेको जानकारी दिएका छन्।

बाढीपछि नदी तटीय क्षेत्रमा खोजी तथा उद्धारका क्रममा सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार चितवनमा मात्रै ५२ जनाको शव भेटिएको छ। उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव फेला परेको छ।

बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जनाको मृत्यु भएको छ। यस्तै, नुवाकोटमा १७ र धादिङमा २१ जनाको शव फेला परेको एसएसपी धमलाले जानकारी दिए।

गण्डकी प्रदेशअन्तर्गत पर्ने गोरखा र पूर्वी नवलपरासीमा समेत नदी तटीय क्षेत्रमा शव फेला परेका छन्। ती शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटक सम्पर्कविहीन भएका हुन्।

बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन्। यस्तै, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ।

त्यस्तै, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन छन्। सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट विवरण संकलन गरी उक्त तथ्यांक तयार पारेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानको काम जारी रहेको प्रहरीले जनाएको छ।