October 26, 2026, Monday
२०८३ कार्तिक ११

भोटेकोशी बाढीपछि सुदूरपश्चिम प्रदेशका ८५ जना सम्पर्कविहीन

धनगढी । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन्।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सम्पर्कविहीन हुनेमा चार जना सुरक्षाकर्मीसमेत छन्। तीन जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीका कर्मचारी रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५ र बाजुराका १४ जना छन्। यस्तै बैतडीका चार, डोटीका दुई र अछामका एक जना सम्पर्कविहीन भएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।

‘जिल्ला–जिल्लाबाट विवरण संकलन भइरहेको छ,’ एसएसपी बिष्टले भने, ‘प्राप्त विवरणअनुसार अहिले ८५ जना सम्पर्कविहीन देखिएका छन्।’

प्रदेश प्रहरीले बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।