भोटेकोशी बाढीपछि सिंहदरबारमा सर्वदलीय बैठक, राहत-उद्धारमा सहकार्यबारे छलफल

काठमाडौँ । भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि संकट व्यवस्थापन र राहत-उद्धारमा साझा पहल गर्ने विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता महन्थ ठाकुर र श्रम संस्कृति पार्टीका ध्रुवराज राईलगायत सहभागी छन्।
त्यस्तै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही, रास्वपा महामन्त्री विपिनकुमार आचार्य तथा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बैठकमा सहभागी छन्।
बुधबार भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीबाट ठूलो संख्यामा मानिस बेपत्ता हुनुका साथै जनधनको क्षति भएको छ।
बैठकमा प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने, विपद्बाट प्रभावित नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउने तथा आगामी दिनमा यस्ता विपद् सामना गर्न राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा छलफल हुने बताइएको छ।
सरकारले यसअघि नै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ। सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि साझा धारणा र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्