रसुवा बाढी अपडेट : बेपत्तामध्ये १६५ जनाको शव फेला, ८२६ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवामा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा भएका विपद्का घटनामा परी बेपत्ता भएकामध्ये बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अझै ८२६ जना सम्पर्कविहीन छन्। बेपत्तामध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन्।
केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन्। त्यस्तै रसुवाका १६१ र नुवाकोटका एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।
बाढी तथा विपद्का घटनामा ५७९ जना पर्यटकसमेत सम्पर्कविहीन छन्। तीमध्ये ११३ नेपाली र ४६६ विदेशी पर्यटक रहेको मन्त्रालयको तथ्याङ्क छ।
यसैगरी विपद्मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन्।
फेला परेका १६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा नौ र चितवनस्थित नारायणी नदी आसपासमा ६४ वटा रहेका छन्। नवलपरासी पश्चिममा थप पाँच जनाको शव फेला परेको केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख पौडेलका अनुसार फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा छन्।
मन्त्रालयले विपद्सँग सम्बन्धित सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र विश्वास गर्न आम नागरिकलाई आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्