आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली छ। सुदूरपश्चिमको तराईमा पनि सामान्य बदली रहेको छ भने मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोशीका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





प्रतिकृया दिनुहोस्