August 20, 2026, Thursday
२०८३ भाद्र ४

आज संघीय संसद् मातहतका विभिन्न नौ संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौं : संघीय संसद् मातहतका ९ वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अन्य दिन तय भएकाले आज विभिन्न समितिका बैठक बस्न लागेका हुन्।

बिहान १० बजेदेखि सुरु हुने समितिका बैठकमा विधेयक, उजुरी, वैदेशिक सहायता, पूर्वाधार विकास तथा सुशासनलगायतका विषयमा छलफल हुने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल हुनेछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्रांगारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था तथा रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुनेछ।

सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिनेछ।