August 21, 2026, Friday
२०८३ भाद्र ५

मुख्यमन्त्री भट्टको प्रतिबद्धता : सुशासन, रोजगारी र सन्तुलित विकास प्राथमिकतामा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सरकारको प्राथमिकता सुशासन, दिगो विकास, उत्पादन, रोजगारी र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने रहेको बताएका छन्।

बुधबार सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत माग्दै उनले विकासलाई केही शहर वा क्षेत्रमा मात्र केन्द्रित नगरी हिमाल, पहाड र तराईलाई समान अवसर र प्राथमिकतासहित अघि बढाउने प्रतिबद्धता जनाए।

‘कुनै भूगोल, वर्ग, समुदाय वा नागरिकलाई विकासको अवसरबाट पछाडि पार्ने छैन,’ उनले भने, ‘सन्तुलित, समानुपातिक र समावेशी विकासको सिद्धान्तलाई आत्मसात् गर्नेछु।’

उनले विकासलाई सडक, भवन र भौतिक संरचनामा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, उद्यमशीलता र मानव विकासलाई प्राथमिकतामा राख्ने बताए।

‘भुइँ मान्छेले सपना देख्न सक्ने र उनीहरूको जीवनलाई सम्बोधन गर्ने कुरा हाम्रो प्रस्थानविन्दु हुनेछ,’ उनले भने।