October 29, 2026, Thursday
२०८३ कार्तिक १४

लुम्बिनी प्रदेशमा आचार्यले पाए विश्वासको मत, जसपाको समर्थनले जोगियो एमाले नेतृत्वको सरकार

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो। प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए।

विश्वासको मतका लागि आवश्यक बहुमत प्राप्त गरेपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।

आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाका १ सांसदले उनको पक्षमा मतदान गरेका हुन्। नेकपाका एक सांसद विदेशमा रहेका कारण अनुपस्थित थिए भने जसपा नेपालकी अम्बिका काफ्ले पनि बैठकमा अनुपस्थित थिइन्।

प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा अनुपस्थित रहेका थिए।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपरेको हो। कांग्रेसले समर्थन फिर्ता लिए पनि एमाले नेतृत्वको सरकारलाई समर्थन गरिरहेका अन्य दलको साथ कायम रहेपछि आचार्यले बहुमत जुटाउन सफल भएका हुन्।

हाल लुम्बिनी प्रदेशमा एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन्। नेपाली कांग्रेस र जनमत पार्टी विपक्षमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ भूमिकामा छ।

जसपा नेपाललाई पार्टी केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएको भए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। जसपाले समर्थन नगरेको भए मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत पुग्ने अवस्था थिएन। जसपाको चार मतकै कारण आचार्य नेतृत्वको सरकार बहुमतमा कायम रहन सफल भएको हो।