October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ : सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकलाई प्रक्रियाअघि बढाउने कार्यसूची राखिएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछिन्।

मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची छ।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेस गर्नेछन्।

उता, राष्ट्रियसभाको बैठकमा पनि विधेयकसम्बन्धी कार्यसूचीलाई प्राथमिकता दिइएको छ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।