August 24, 2026, Monday
२०८३ भाद्र ९

श्रद्धा र आस्थाका साथ आज नाग पञ्चमी मनाइँदै

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। नाग पञ्चमीका अवसरमा घर तथा कार्यालयका मूल ढोकामा नागको चित्र टाँसेर नाग देवताको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।

नाग पञ्चमीका दिन बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको मूल ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने चलन छ। नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्ने गरिन्छ। यसरी नागको पूजा गर्दा वर्षभरि सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट बच्न सकिने धार्मिक विश्वास छ। साथै, अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत रक्षा हुने जनविश्वास रहिआएको छ।

धार्मिक शास्त्रअनुसार नाग पञ्चमीमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने विधान छ। यस अवसरमा नाग स्तोत्र पाठ गरी नागको चित्र घरको मूल ढोकामा टाँस्ने परम्परा छ।

ज्योतिषीय मान्यताअनुसार नागको शिर विभिन्न महिनामा फरक–फरक दिशामा रहने विश्वास गरिन्छ। यस वर्ष नाग पञ्चमी भदौ महिनामा परेकाले नागको शिर पूर्व दिशामा रहेको मानी पूजा गर्ने उल्लेख छ। नागको चित्र टाँस्न बिहान ५ बजेर ३५ मिनेटसम्म ‘अमृत बेला’ तथा बिहान ७ बजेर १४ मिनेटदेखि ८ बजेर ५० मिनेटसम्म ‘शुभ बेला’ रहेको जनाइएको छ।

नाग पञ्चमीलाई ज्योतिषीय दृष्टिले पनि विशेष दिनका रूपमा लिइन्छ। कुण्डलीमा राहु र केतुका कारण उत्पन्न हुने भनिएको ‘कालसर्प योग’बाट मुक्ति पाउन नागको विशेष पूजा गर्ने प्रचलन छ। नयाँ घर निर्माणका क्रममा हुने भनिएको नाग दोष निवारणका लागि पनि यस दिन भूमिमा नाग देवताको विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता छ।

नाग पञ्चमीमा विभिन्न स्थानमा रहेका नाग देवताका मन्दिर, नागदह, कुण्ड तथा पोखरीमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका विभिन्न नागस्थानमा विशेष पूजा तथा धार्मिक गतिविधि हुने गर्छन्।

यस दिन कतिपय भक्तजनले व्रतसमेत बस्ने गर्छन्। नाग देवताको मूर्तिमा फूल, प्रसाद, फलफूललगायत सामग्री अर्पण गरी पूजा गर्ने र धार्मिक विधिअनुसार प्रसाद ग्रहण गर्ने परम्परा छ।

धार्मिक आस्थासँगै नाग तथा सर्पलाई प्राकृतिक सन्तुलनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। सर्पले मुसा तथा विभिन्न कीरा–फट्याङ्ग्रा नियन्त्रणमा सहयोग गर्ने भएकाले कृषि प्रणाली र जैविक विविधतामा यसको महत्वपूर्ण भूमिका रहेको छ। त्यसैले नाग पञ्चमीलाई धार्मिक परम्परासँगै सर्प तथा प्रकृतिको संरक्षणप्रतिको सांस्कृतिक चेतनासँग जोडेर हेर्ने गरिन्छ।

नाग पञ्चमीसँगै वर्षायाम क्रमशः अन्त्यतिर पुग्ने र हिउँद सुरु हुने जनविश्वास पनि कतिपय समुदायमा रहिआएको छ। यसरी नाग पञ्चमी धार्मिक आस्था, संस्कृति, प्रकृति र वातावरणसँग जोडिएको पर्वका रूपमा नेपालमा लामो समयदेखि मनाइँदै आएको छ।