April 17, 2026, Friday
२०८३ बैशाख ४

स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

पवन महरा
डोटी मंसिर २६: खोपमा हेलचक््रयाईँ गरेको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मीलाई रिहाइ गर्न माग गर्दै गृहमन्त्रालयका सचिवलाई ज्ञापन पत्र पठाईएको छ । नेपाल स्वास्थ्यकर्मी संघ डोटीले बिहिबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत ज्ञापन पत्र पठाएको हो ।
नेपाल स्वास्थ्यकर्मी संघ डोटीका अध्यक्ष अर्जुन बलायर र सचिव प्रेम बहादुर कठायतद्वारा हस्ताक्षेरित ज्ञापन पत्र मार्फत पक्राउ स्वास्थ्यकर्मीलाई तत्काल रिहाइ गर्न माग गरिएको छ । पक्राउ परेका स्वास्थ्यकर्मी हीरादत्त भट्टलाइ रिहाई नगरिए थप संघर्षका कार्यक्रमहरु अघि लान बाध्य हुने चेतावनी समेत दिएको छ ।
ज्ञापन पत्रमा खोप ऐन नियमावली अनुसार अनुसन्धान अघि बढाउनुको सट्टा प्रहरीले आफन्तको किटानीको आधारमा स्वास्थ्यकर्मी भट््टलाई हिरासतमा राखेको प्रती गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘आफ्नो कर्तव्य निर्वाहमा सेवारत स्वास्थ्यकर्मी भट्टलाई पिडित पक्षले दिएको किटानीको आधारमा हिरासतमा लिदा सिंगो देश भरिका स्वास्थ्यकर्मीहरुको मनोबल घटेको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘उक्त घटनाको अनुसन्धानका लागि नेपाल स्वास्थ्यकर्मी सघं डोटी पूर्णरुपमा सहयोग र समन्वय गर्ने छ । घटना खोप ऐन निमावली अनुसार प्रत्येक बालबालिकाको खोप सेवा लिने अधिकार र स्वास्थ्यकर्मीले खोप सेवा दिने व्यवस्था ऐन अनुसार रहेको छ ।’
जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा मंसिर १७ गते खोप लगाएपछि सोही ठाउँका टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएको थियो । शिशुका अभिभावकको किटानी जाहेरीका आधारमा खोप लगाउन संलग्न स्वास्थ्यचौकी इन्चार्ज हीरादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । जसको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलित डोटीका स्वास्थ्यकर्मीहरुले यस अघि मंगलबार कार्यक्षेत्रमा कालो पट्टी बाँधेर बिरोध गरेका थिए ।
आन्दोलनका कार्यक्रम अनुसार पुुस १ गतेदेखि जिल्लाभर आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । स्वास्थ्यकर्मीहरुको खोपकै कारण मृत्यु भए÷नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफ्नो कुनै दोष नरहेको दावी छ । मृतक शिशुका आफन्तहरुले भने स्वास्थ्यकर्मीको हेलचक््रयाईँले मृत्यु भएको आरोप लगाएका छन् ।
यस विषयमा आवश्यक अनुसन्धान भईरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए ।