एआईको दुरुपयोग गरी चरित्रहत्या र त्रास फैलाउनेलाई कडा कारबाही हुने प्रहरीले दियो चेतावनी

काठमाडौँ : नेपाल प्रहरीले एआई (कृत्रिम बुद्धिमत्ता) तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत भ्रामक, आपत्तिजनक तथा चरित्रहत्या गर्ने सामग्री उत्पादन र प्रसारण नगर्न चेतावनी दिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सार्वजनिक सचेतना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो–भिडियो बनाउने, गलत सूचना फैलाउने, चरित्रहत्या गर्ने उद्देश्यले श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने र आममानिसमा त्रास सिर्जना गर्ने गतिविधि बढेको जनाएको हो।
प्रहरीका अनुसार यस्ता गतिविधि नैतिक रूपमा गलत मात्र नभई प्रचलित कानुनअनुसार दण्डनीयसमेत छन्। एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी समाजमा त्रास फैलाउने वा व्यक्ति तथा संघसंस्थाको चरित्रहत्या गर्ने जोकोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी प्रहरीले दिएको छ।
साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा देखिने हरेक सामग्रीलाई तत्काल विश्वास नगर्न र कुनै पनि सूचना आधिकारिक तथा विश्वसनीय स्रोतबाट मात्र पुष्टि गर्न आमनागरिकलाई आग्रह गरेको छ।
प्रवक्ता एवं सूचना अधिकारी दिलीपकुमार गिरीद्वारा जारी सचेतनामा एआईसहितका डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोगबाट हुन सक्ने गतिविधिप्रति विशेष सतर्क रहनसमेत आग्रह गरिएको छ।





प्रतिकृया दिनुहोस्