August 14, 2026, Friday
२०८३ श्रावण २९

एमाले डोटीका पूर्वउपाध्यक्ष मल्ल रास्वपामा प्रवेश

डोटी : नेकपा (एमाले) डोटीका पूर्वउपाध्यक्ष शेरबहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मल्लले मंगलबार सामाजिक सञ्जालमार्फत आफूले एमाले परित्याग गरी रास्वपामा आबद्ध भएको घोषणा गरेका हुन्।

शिखर नगरपालिकाका आफ्ना केही समर्थक तथा रास्वपाका नेताहरूको उपस्थितिमा आयोजित भेलामा मल्लले रास्वपा प्रवेशको घोषणा गरेका हुन्। स्रोतका अनुसार उनले केही समयअघि नै रास्वपाको सदस्यता लिइसकेका थिए।

रास्वपा प्रवेशको घोषणा गर्दै मल्लले यसअघि आफूलाई साथ र सहयोग गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि निरन्तर सामाजिक काममा जोडिइरहने प्रतिबद्धता व्यक्त गर्दै आफूमा आएको राजनीतिक परिवर्तन कुनै व्यक्तिगत स्वार्थ वा दुराशयबाट प्रेरित नभएको बताएका छन्।

‘केही प्राप्तिका लागि नभई समयको मागअनुसार आफूमा परिवर्तन आएको’ उनको भनाइ छ। विगतमा आफूलाई साथ र सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि इमानदारीपूर्वक समाज र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अनेरास्ववियु, राष्ट्रिय युवा संघलगायत एमालेका जनवर्गीय संगठनमार्फत राजनीतिमा सक्रिय भएका मल्ल एमाले डोटीको जिल्ला सदस्य, सचिव हुँदै उपाध्यक्ष बनेका थिए।

एमाले डोटीमा लामो समयदेखि सक्रिय मल्लले २०८१ मंसिरमा सम्पन्न नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि मञ्जु मलासीसँग प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनी पराजित भएका थिए।

जिल्ला अधिवेशनपछि आफूलाई पार्टीले सक्रिय राजनीतिक भूमिकाबाट अलग राखेको मल्लको आरोप छ। आफूमा सक्रिय राजनीति गर्ने इच्छा हुँदाहुँदै पनि पार्टीले भूमिकाविहीन बनाएको र एमाले समयसापेक्ष ढंगले अघि बढ्न नसकेको उनको गुनासो छ।

मल्लको रास्वपा प्रवेशसँगै डोटीमा एमालेको लामो समयदेखि सक्रिय एक नेताले पार्टी परिवर्तन गरेका छन्। उनको प्रवेशले जिल्लाको बदलिँदो राजनीतिक समीकरणमा समेत चासो बढाएको छ।