August 14, 2026, Friday
२०८३ श्रावण २९

देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

काठमाडौं : देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिइएको छ।

सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द गर्न भनेका हुन् ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ८९ अनुसार यो व्यवस्था लागू गरिएको पत्रमा उल्लेख छ । नयाँ व्यवस्था अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत तह (कक्षा १–५) मा लिइने परम्परागत आन्तरिक परीक्षाहरू पूर्ण रूपमा बन्द हुनेछन्।

कतिपय विद्यालयहरूले अझै पनि पुरानै शैलीमा त्रैमासिक परीक्षामार्फत मूल्यांकन गरिरहेको पाइएपछि लिखित निर्देशन दिइएको बताइएको छ ।

अब कसरी हुन्छ मूल्यांकन ?

अबदेखि विद्यालयहरूले ‘विद्यार्थी मूल्यांकन मार्गदर्शन २०८३’ बमोजिम विभिन्न सूचक र मापदण्डका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ ।

विद्यार्थीको सिकाइ उपलब्धिलाई परीक्षाको अंकमा मात्र नहेरी उनीहरूको व्यवहार, सिर्जनशीलता र निरन्तर मूल्यांकनका आधारमा मापन गरिनेछ। एकाइले मूल्यांकनका सम्भाव्य तरिका र साधनहरू समेत विद्यालयहरूलाई उपलब्ध गराएको छ ।

स्थानीय तहहरूलाई समेत यो निर्णय कार्यान्वयनमा आवश्यक सहयोग र सहजीकरण गरिदिन भनिएको छ ।