October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले निवर्तमान सभापति देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका हुन् । विश्वकर्माका अनुसार देउवा साउन २८ गते दिउँसो १२ बजे फर्किने समय तय भएको हो ।

कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे थाई एयरबाट काठमाडौं अवतरण हुने भएका छन् ।

नेता विश्वकर्माले राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताए । ‘फ्लाइट २६ गते राति थियो । राति नआउनुस् । हामीले स्वागत गर्न पाउनुपर्‍यो भन्यौं,’ उनले भने, ‘अनि डेट सरेको हो । समय पनि दिउँसो भयो ।’

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

नेपाल आएर देउवाले नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएका थिए ।

यता, देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनी विरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा रेकर्ड हेरिरहेको बताएका हुन् । 

सञ्चारकर्मीले देउवा स्वदेश फर्किएपछि उनलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने कुनै आधार छ कि छैन भनेर प्रश्न गरेपछि जवाफमा उनले भने– ‘हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’