April 17, 2026, Friday
२०८३ बैशाख ४

घरदैलोमा पूर्वमन्त्री बलायर

डोटी मंसिर २४(ई-रैवार)
दूर–दराजको गाउँ, राज्यको अनुभूति गर्नपनि हम्मेहम्मे ! विकास र समृद्धिको सपना त कहाँ हो कहाँ ? जनस्तरको यौटै उद्देश्य–जतिसक्दो चाँडो तराई झर्ने !
उपर्युक्त वाक्यहरु डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गाउँहरुको हो । यसमा पनि वडा नम्बर, १, २ र ३ क्रमशः साविकका सिमचौर, केदारअखडा र कानाचौर गाविसहरु । जहाँको परिवेशसंग यी वाक्य दुरुस्तै मिल्छन् ।
यही भुगोलमा यतिबेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर ‘घरदैलो’ गरिरहेका छन् । ‘यो भुगोलसंग म पहिल्यैदेखी परिचित छु । यहाँको अवस्थाले मेरो मन छुन्छ,’ उनी भन्छन्,‘म मन्त्री रहँदा यहाँको परिवेशलाई सम्बोधन गर्ने केही योजना अघि सारेको पनि छु ।’
कानाचौर पुग्दा मंगलबार उनले आफ्नो योजनाका केही प्रयासहरु सुनाए । ‘बोगटान सडक यस क्षेत्रको प्राणवायू हो । जसमा दुईअर्व बढीको टेण्डर मेरै पालामा भएर काम भईरहेको छ । त्यसमा थप एक अर्व ५० करोड अरु विनियोजन गरेको छु,’ उनले सुनाए । यसबाहेक सिमचौर, केदारअखडा, कानाचौर हुँदै सुर्खेत जोड्ने सडक पनि आफुले प्रस्ताब गरेको उनले बताए । उनले भने, ‘यो सडकले अन्तरप्रदेश जोड्ने काम गर्नेछ । जसले बोगटान गाउँपालिकालाई दुई प्रदेशको जक्सन बनाउनेछ ।’
घरदैलोका क्रममा उनी सडक भएका क्षेत्रमा मोटरसाईकलमा जान्छन् । नभएका ठाउँमा हिडेरै पुग्छन् । प्रतिनिधी सभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका उनी आफ्ना अजेण्डा अझै नमरेको बताउछन् र जनतासंग गफिन्छन् । ‘सदावहार राजनीति गर्नेले यौटा दृढ संकल्प गरेका हुन्छन् । चुनाव जितहारमा ति संकल्प मर्दैनन्,’ उनले भने,‘म अहिले तिनै संकल्पहरु बोकेर जनताका घरदैलोमा पुग्दै सुनाउदै हिडिरहेको छु ।’ पहिलो चरणमा आंशिक रुपमा जिल्लाका सबै ठाउँमा पुग्ने प्रयत्न गरिरहेको उनले बताए । ‘दोस्रो चरणमा म सबैजसो घरदैलोमा पुग्ने प्रयास गर्नेछु,’ उनले आफ्नो योजना सुनाए ।