October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त गरेका छौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त भएको बतायका छन् ।

विशेष महाधिवेशनको वैधानिकता महाधिवशेन हल, निर्वाचन आयोग, अदालतले पुष्टि गरिसकेको र फेरि यसको पुष्टि गर्नुपर्ने अवस्था आएको हुँदा पुनस् पुष्टिका लागि अवसर आएको थापाले बताएका हुन् ।

महाधिवेशनका प्रतिनिधिको अधिकारका आधारमा विशेष महाधिवेशन गरिएको र विशेष महाधिवेशन आवश्यक भएरै गरिएको बताएका छन् । ‘बडो शानका साथ हामीले वैधानिकताका लागि दाबी गर्छौं,’ थापाले भने ।

मंसिरभित्र १५औं महाधिवेशन गर्नैपर्ने बाध्यतात्मक अवस्था रहेको सभापति थापाले बताए । पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले आगामी २४ गते बस्ने पार्टी केन्द्रीय समितिको वैठकमा अदालतको आदेशबारे राम्रोसँग छलफल गरेर धारणा बनाउने बताए । यसमा कुनै हतार गर्नुपर्ने आवश्यकता नभएको टिप्पणी उनले गरे ।

कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा सभापति थापाले तोकिएकै समयमा महाधिवेशन हुने जानकारी गराए ।

मंसिरभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक र विधानको वाध्यता रहेको उनले बताए । महाधिवेशनमा सबै पक्षलाई समेट्न आफूले हरसम्भव प्रयत्न गर्ने बताए ।

‘तोकिएको समयभित्र महाधिवेशन गर्नका लागि सबैलाई समेट्ने गरी विधानको सीमाभित्र रहेर हदसम्म प्रयास गरेको छु, गर्छु ।’ क्रियाशील सदस्यता करिब टुंगिएको सभापति थापाले जानकारी गराए ।