प्रधानमन्त्री वालेन्द्रद्वारा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु भएको हो ।
छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
यस्तै, सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनीहरूले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी-खुटिया-दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माणबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन्।
त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना तथा अन्य स्थानीय समस्याबारे जानकारी गराएका छन्। यससँगै भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद-बिक्री तथा दोधारा-चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि प्रधानमन्त्रीलाई सुनाएका छन्।
प्रधानमन्त्रीसँगको भेटमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सांसद सहभागी थिए।



प्रतिकृया दिनुहोस्