July 31, 2026, Friday
२०८३ श्रावण १५

जयनगर-जनकपुर-भङ्गाहा रेल सेवा स्थगन, आज कहाँ कहाँ छ कर्फ्यू आदेश ?

धनुषा : नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज  सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कफ्र्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कफ्र्यु आदेशका आधारमा उक्त निर्णय गरिएको उल्लेख छ । नेपाल रेल्वे कम्पनीले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डमा हाल सञ्चालन हुँदै आएको सेवा कफ्र्यु कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ ।

यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै परिस्थिति सामान्य भएपछि सेवा पुनःसञ्चालन गरिने निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख छ ।

आज कहाँ कहाँ छ कर्फ्यू आदेश ?

आज धनुषामा पनि कर्फ्यू आदेश जारी छ । तोडफोड, आगजनी, बजार, विद्यालय, क्याम्पस बन्द जस्ता भीषण आन्दोलनलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ९ बजेबाट पुनः अनिश्चितकालका लागि जारी गरेको छ।

आज बिहान ६ बजे किनमेलका लागि बजार खोलिएकोमा पुन कर्फ्यु लगाईएको हो ।  मधेश प्रदेशको राजधानी र आसपासका क्षेत्रमा कर्फ्यू जारी गरेपछि जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।

यता मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रेस विज्ञप्ति जारी गरी आपसी सद्भाव, भाइचारा, सामाजिक समञ्ज्यास्यता, सहिष्णुता कायम गर्न अपरिहार्य भएकोले आफ्ना माग लोकतान्त्रिक अभ्यासको रुपमा शान्तिपूर्ण शैलीमा प्रस्तुत गर्न विशेष आग्रह गरेका छन् ।

त्येस्तै सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।