October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

सुनसरीको देवानगञ्ज घटनाबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ : सुनसरीको देवानगञ्ज घटनालगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक सुरु भएको हो । 

सिंहदरबारस्थित प्रतिनिधि सभाको लेखा समिति हलमा सुरु भएको बैठकमा नेपाली काग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

त्येस्तै बैठकमा अर्थमन्त्री स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली,  रास्वपाका महामन्त्री  विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत उपस्थिति छन् । 

सुनसरीको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल आवश्यक ठानेर यो बैठक आयोजना गरिएको हो । 

देवानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु र प्रहरीसहित २२ घाइते भएपछि विकसित हिंसात्मक घटनाले सुनसरी अझै अशान्त रहेको छ । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि अवस्था अझै सामान्य बन्न सकेको छैन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

उता जिल्ला प्रशासन कार्यालयले इटहरी, इनरुवा, दुहबीसहित जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ भने सुरक्षा निकायको व्यापक परिचालन गरिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएको हो।

गृह मन्त्रालयको छानबिन समिति घटनास्थलमा पुगेको छ भने प्रमुख जिल्ला अधिकारीले मृतक ओमप्रकाश मेहताको परिवारसँग भेट गरी स्थानीयको माग र गुनासो सुनेका छन्।

सुरक्षा अधिकारीहरूले स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवालासँग छलफल गर्दै संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न आग्रह गरेका थिए। तर हिजो साँझ पुनः झडप चर्किएपछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।