कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधन, राष्ट्रपतिद्वारा दु:ख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज निधन भएको हो।
नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। सोही अस्पतालमा उनको निधन भएको हो। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको राष्ट्रप्रति रामचन्द्र पौडेलले बताएका छन् ।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका हुन् ।
राष्ट्रपति पौडेलले श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रुपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस गरेको उल्लेख गरेका छन् ।





प्रतिकृया दिनुहोस्