अनसनरत डाक्टर केसीलाई शिक्षा मन्त्री पोखरेलको फोन, जैशीले राखे तीन सर्त

धनगढी : धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फोन गरेका छन् । शुक्रबार साँझ मन्त्री पोखरेलले डाक्टर केसीसँग कुरा गर्न उनका सहयोगी डाक्टर अमृत जैशीलाई फोन गरेका थिए ।
त्यसबेला डा. केसी आराम गरिरहेकाले जैशीले नै मन्त्रीसँग करिब १० मिनेटभन्दा बढी संवाद गरेका थिए। फोन संवाद गर्दै मन्त्री पोखरेलले सरकार डा. केसीका मागप्रती सकारात्मक भएको बताउँदै वार्ताको वातावरण बनाउन भूमिका खेलिदिन जैशीलाई आग्रह गरेका छन् ।
‘मन्त्रीज्यूले आफैं फोन गर्नुभएको थियो । डाक्टर साबले उठाउनुभएका माग सम्बोधन गर्न सरकार सकारात्मक छ भन्नुभयो,’ डा. जैशीले भने, । डा. केसीका तर्फबाट डा. जैशीले आगामी मन्त्रिपरिषद् बैठकबाट शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गर्नुपर्ने, तत्काल चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने तथा दुई पदाधिकारीलाई हटाउनुपर्ने तीन सर्त राखेका थिए।
उनका अनुसार स्वार्थ बाझिने गरी गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति तत्काल बदर गरी मन्त्रिपरिषद् बैठकबाट अन्य व्यक्तिलाई जिम्मेवारी दिएर भए पनि प्रक्रिया अघि बढाउनुपर्ने माग राखिएको छ।
सरकारले डा. केसीका माग सम्बोधन गर्न आफू गम्भीर रहेको जनाएको भए पनि त्यसले उनको अनशनमा तत्काल कुनै प्रभाव पारेको देखिएको छैन। डा. जैशीले भने, ‘ मन्त्रीज्यूले सरकारले उहाँसँग वार्ता गर्न टोली गठन गर्ने तयारी गरेको छ । सचिवालयले पनि अध्ययन गर्दैछ भन्नुभयो ।’
मन्त्री र डाक्टर केसीबीच समेत फोन संवादको तयारी छ । डा. केसीले बिहीबारदेखि कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे मागसहित अनशन सुरु गरेका छन्।





प्रतिकृया दिनुहोस्