अर्थमन्त्री नै संघीयता खतम पार्ने दिशामा लागेका छन् : पूर्वराष्ट्रपति यादव

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीयतालाई खतम पार्ने दिशामा लागेको बताएका छन् ।
उनले बुधबार काठमाडौंमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संघीयता खारेजीले फेरि प्यान्डोराज बक्स खुल्ने दाबी गरे ।
‘मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् । संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर भनेर बोल्छन् । यसले फेरि प्यान्डोरा बक्स खोलेर राणाकालीन सोच फर्काउने, देशलाई बर्बाद गर्ने खतरा देखिन्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयताविरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ ।
‘हामीले विद्वान भनेर विश्वास गरेका व्यक्तिहरू, युएनडीपीमा काम गरेका, ठूलो शिक्षा हासिल गरेका भनेर प्याराडाइम सिफ्ट गर्ने अपेक्षा गरेका मानिसहरू नै संघीयता खत्तम गर्ने कुरा गर्छन् भने त्यो देशका लागि गम्भीर समस्या हो । संघीयतासँगै धेरै कुरा जोडिएका छन्, त्यसैले यसलाई हल्का रूपमा लिन मिल्दैन,’ उनले भने ।
संघीयतासँग धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै उनले प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले रास्वपाको महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने दस्तावेज पेश गरेका थिए । उक्त दस्तावेजलाई रास्वपा महाधिवेशनले पारित गरेको थियो ।



प्रतिकृया दिनुहोस्