July 16, 2026, Thursday
२०८३ श्रावण १

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभा बिहान ११ बजे र मध्याह्न सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । 

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१-२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ । 

“नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची छ।

त्यस्तैअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आर्थिक विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुे, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।