बडिकेदारमा भक्तजनको घुँईचो

डोटी कात्तिक २३(ई-रैवार)
धनगढी–अत्तरिया–सहजपुर–वीपीनगर हुँदै अहिले दिनहुँ अत्तरकाँडाका लागि दर्जनौ बस चढ्छन् । खचाखच यात्रु बोकेका ती बसहरुमा पाईला टेक्ने ठाउँ नै भेटिन्न । तराईका रानाथारु समुदाय र भारतीय तीर्थहरुसहित हज्जारौँ यात्रीहरुले यसरी अहिले यात्रा गरिरहेका छन् ।
उनीहरुको डोटीको प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा दर्शन गर्न र मेला भर्न आईरहेका छन् । डोटीको दक्षिणी क्षेत्र बडिकेदार गाउँपालिकामा अवस्थित बडिकेदार यसक्षेत्रको धार्मिक आस्थाको धरोहर हो । बडिकेदार समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको छ ।
बडिकेदारमा हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ । फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा बडिकेदार पुजिन्छ । यही सेरोफेरोमा यहाँ तीर्थालुको बाक्लो भिड हुने गर्छ । यसवर्ष बैकुण्ठ चतुर्दशी कात्तिक २५ गते परेको छ । सो दिन नजिकिदै गर्दा यहाँ दर्शनार्थीहरुको घुँईचो लाग्न थालेको छ । ‘महाशिवरात्रिभन्दा कात्तिकको बैकुण्ठ चतुर्दशी भव्य मेला लाग्छ,’ बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिसागर विनाडी भन्छन्,‘यो आउन एकसाता अघिदेखी नै दर्शनार्थीहरु बडिकेदार गाँथमा पुगेर दर्शन गरेर फर्कने गर्दछन् ।’
बडिकेदारमा डोटीसँगै कैलाली, कञ्चनपुर र भारतको उत्तरप्रदेशका तीर्थयात्रा गरेर दर्शन गर्न आउछन् । मनोकामना पूरा हुने भन्दै तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका सहरहरु लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट बर्सेनि कार्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आउने गर्छन ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लानागाउँ वरपरका बासिन्दाहरु आएर पूजाआजा गर्न थालेका हुन् । विस्तारै बडिकेदारको दैवीय शक्तिको प्रचारप्रसार हुँदा पछिल्लो चारदशकयता कैलाली, कञ्चनपुरका थारू समुदाय र भारतको उत्तर प्रदेशका दर्शनार्थी आउन थालेका छन् ।
बडिकेदार शिवजीको बासस्थान रहेको स्थानीयहरुको मान्यता छ । ‘बडिकेदारलाई शिवजीको बासस्थान हो,’ बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द भन्छन्, ‘जहाँ यो समय(वैकुण्ठ चतुर्दशी)मा यसक्षेत्र आसपासका शिव गणका देवताहरु भेटघाट गर्न आउछन् । ती देवताका ‘देवरो’संग उनका पुजक समाज पनि आउछ ।’ यसवेला बडिकेदारमा देवताहरुको व्यापक संगम(जाँत) पनि हुने उनी बताउछन् ।
बडिकेदारमा शिवको प्रतिमूर्तिका रूपमा रहेको शिला छ । जहाँ शिवको प्रतिमा पनि खोपिएको छ । नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति ठूलो भिरको बीचमा रहेको छ ।
बडिकेदार धार्मिक आस्था मात्रै नभई वरपरको वातावरण, दृश्यावलोकन गर्न सकिने सुन्दर र रमणिय स्थल पनि हो । यसलाई धार्मिक तथा पर्यापर्यटनको दृष्टिकोणबाट प्रवद्र्धन गर्न सके यसक्षेत्रको आर्थिक समृद्धिमा हासिल गर्न मद्दत गर्ने जानकारहरु बताउछन् ।





प्रतिकृया दिनुहोस्