प्रतिनिधिसभामा नयाँ नियमावली पेस, शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस भएको छ । सोमबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए ।
संसद् गफ गर्ने अखडा नभएर काम गर्ने थलो हो भन्ने गरी प्रावधानहरू राखिनुपर्नेमा जोड दिए । सरकारलाई जवाफदेही बनाउने गरी नियमावली बन्न सक्दा यसले समग्र मुलुककै हित गर्ने उनको राय छ ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मिनी संसद्को रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताए ।
‘विधेयकसहित अन्य कार्यसूचीहरूमा पनि विभागी मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ कि छैन ?’ उनले प्रश्न गरे । संसद्मा प्रश्न गर्ने र संशोधन राख्ने प्रर्याप्त समय दिने व्यवस्था छ कि छैन भनेर नियमावलीमा हेरेर दफावार छलफलमा संशोधन राख्ने उनले बताए ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावमा अघिल्लो पटक रहेको महिला समन्वय समितिको व्यवस्था यसपटक छैन ।
यो विषय संसदमै पनि उठेको छ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले यो विषय उठाएकी छन् ।
‘पहिले महिला समन्वय समिति थियो । यसलाई पूर्ण रुपमा हटाइएको छ । यसले के असर गरेको थियो ?’ शर्माले भनिन्, ‘हामी यहाँ १५७ जना महिला माननीयहरू यहाँ छौं । महिलाको जनसंख्या ५१.४ प्रतिशत छ । आधा आकाश ओगटेका महिलाहरू अझै पितृसत्तात्मक सामन्ती संस्कारबाट पीडित छन् ।’
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ मा महिला समन्वय समितिसम्बन्धी व्यवस्था थियो । जहाँ भनिएको छ, ‘महिलाका विषयमा सभामा समान धारणा बनाउन तथा त्यस्ता धारणालाई बहस पैरवीमा ल्याउन महिला सदस्य संयोजक रहने गरी एक समिति रहनेछ ।’
शून्य समयमा कुन सांसदले के भने ?
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले आयोगका सदस्य लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न कसले किन रोक्यो सदनले जानकारी पाउनुपर्ने बताए ।
उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले बनाएको आयोगको प्रतिवेदन अपूरो रहेको भन्दै पूरा गर्नुपर्ने समेत बताए ।
बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गरे। सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गरिन्।
सांसद अप्सना बानुले विदेशमा रोजगारी गर्न गएर ज्यान गुमाएकाको शव ल्याउन असहज हुने गरेको बताउँदै वैदेशिक रोजगारीमा जानेहरुको जीवनका बारेमा पनि ध्यान दिन माग गरिन्।
सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरे। सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारले निर्णय लिनुपर्ने सुझाव दिइन्। सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौको इन्धन आयात गर्नुभन्दा स्वदेशकै ऊर्जा उपयोग गर्न माग गरिन्।
सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको भर्खर ट्रयाक खोलिएकाले पूरा गर्न स्रोत सुनिश्चित गर्न माग गरे। सांसद अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
सांसद अशोककुमार चौधरीले स्थानीय तहले राजनीतिक भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाले त्यसो नगर्न माग गरे। सांसद आकृति अवस्थीले डिजिटल बैङ्किङ प्रणालीलाई थप विश्वसनीय र सहज बनाउन माग गरे।
सांसद आर्यन राईले विदेशमा रोजगारी गर्न जानेका लागि सरकारले फ्रि टिकट फ्रि भिसा भने पनि कामदारले लाखौँ नतिरी विदेश जान नपाउने गरेकाले यसको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे। सांसद आशा झाले मोरङ सुगमको पनि दुर्गम ठाउँ बताउँदै ५ नं क्षेत्रको विद्युत् र टावरको समस्या समाधान गरिनुपर्नेमा जोड दिइन्।
सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे। सिन्धुली जिल्ला अस्पतालमा एक्स रे यन्त्र बिग्रिएकाले माग गरेको लामो समय भइसक्दा पनि प्राप्त नहुँदा बिरामी समस्यामा परेकाले छिटो व्यवस्था गर्न माग गरे।
सांसद आशिका तामाङले धादिङमा पर्ने राजमार्गमा धेरै समस्या आउने गरेकाले समाधान खोज्न सरोकार भएका निकायको ध्यानाकर्षण गराइन्। विद्युतीय सवारीमा चार्ज सकिएर सवारी अलपत्र हुने गरेकाले पर्याप्त मात्रामा चार्जिङ स्टेसनको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।
सांसद इन्दिरा रानामगरले झापा अर्जुनधारा क्षेत्रको ११ बिघा जग्गाको समस्या समाधान गर्न माग गरिन्। सांसद यशोदाकुमारी बरालले वैदेशिक रोजगारीमा गई समस्या परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरिन्।
सांसद अङ्किता ठाकुरले छिन्नमस्ता भगवती मन्दिरमा पूर्वाधार विकास गरी पर्यटकको वृद्धि गरिनुपर्ने बताइन्। राजबिराज शहरको विकासमा ध्यान दिन पनि उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद कबिन्द्र बुर्लाकोटीले गोरखाका धेरै पालिकामा सामान्य हावा चलेका बेलामा पनि झ्याप झ्याप बत्ती जाने गरेकाले पोल र तार फेर्न माग गरे। सांसद कालीबहादुर सहकारीले सरकारले प्रतिपक्षका कुरा नसुन्ने, आफुखुसी काम गर्ने गर्दा समस्या आएकाले सरोकार भएकाको ध्यानाकर्षण गराए।
सांसद कुसुम महर्जनले बेरुजु बढ्दै जाँदा करको दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही माग गरिन्। सांसद कृपा महर्जनले काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा विदेशबाट आयातित सामानको बिक्री वितरण नहुने गरी नीति ल्याउन माग गरिन्।
सांसद कृपाराम रानाले व्यक्तिको हत्याका दोषीलाई कारबाही गर्न माग गरे। सांसद केपी खनालले सुदूरपश्चिम प्रदेशको सेती लोकमार्ग लामो समयदेखि अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गरे।
सांसद कृष्णहरि बुढाथोकीले रामेछापमै अहिलेसम्म पनि टेलिफोनको समस्या भएको, खानेपानी अभाव रहेको, बाँदरको आतङ्क भएको, रासायनिक मललगायतका समस्या समाधान गर्न माग गरे।
सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिले मात्र ज्ञान मापन हु्न्छ भन्ने भ्रम पालिएको बताउँदै कक्षामा बसेर पनि सिकेको छैन भने कसरी मापन हुन्छ भन्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्न माग गरिन्।





प्रतिकृया दिनुहोस्