May 18, 2026, Monday
२०८३ जेष्ठ ४

श्रम संस्कृति पार्टीले संसदमै गर्‍यो प्ले कार्डसहित प्रधानमन्त्रीको विरोध

काठमाडौं : श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् ।

प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ । यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ । त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेन्डरमा छैन ।

यस्तो बेला श्रम संस्कृति पार्टीले संसद्मै प्ले कार्ड देखाएर विरोध जनाएको हो । ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा प्रदर्शन गरेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताए । सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’