चुरेको गुणीका ११८ विद्यार्थीलाई झोला वितरण

धनगढी : कैलालीको चुरे गाउँपालिका–५, गुणीस्थित श्री मसानी आधारभूत विद्यालयमा अध्ययनरत ११८ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ । संगम बुक्स पब्लिकेसनका प्रबन्धक सहदेव सापकोटा तथा उनका दाजु अमेरिका निवासी वसन्त सापकोटाको आर्थिक सहयोगमा विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
गाउँका अधिकांश बालबालिका प्लास्टिकको थैला तथा हातमै पुस्तक बोकेर विद्यालय जाने गरेको अवस्था देखेपछि सहयोग अभियान सुरु गरिएको खानीडाँडाका समाजसेवी तथा युवा नेता बालकृष्ण सापकोटाले बताए ।

उनका अनुसार विद्यार्थीको अवस्था नाजुक देखिएपछि सापकोटा दाजुभाइसँग सहयोगका लागि आग्रह गरिएको थियो । “विद्यार्थीहरू प्लास्टिकको थैलामा किताब बोकेर विद्यालय गएको देख्दा निकै दुःख लाग्यो,” उनले भने, “त्यसपछि सहदेव र वसन्त सापकोटा दाजुभाइसँग सहयोगका लागि कुरा गरें । उहाँहरूले दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न तत्परता देखाउनुभयो ।”
विद्यालय व्यवस्थापन पक्षले दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकाका लागि गरिएको सहयोगले विद्यार्थीमा थप उत्साह थपिएको जनाएको छ । स्थानीय अभिभावकले समेत यस्ता सहयोगले विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
सहयोग जुटाउन पहल गर्ने समाजसेवी बालकृष्ण सापकोटा र सहयोग गर्ने सहदेव सापकोटा र उनका दाजु अमेरिका निवासी वसन्त सापकोटालाई अभिभावकले धन्यवाद दिए ।





प्रतिकृया दिनुहोस्