नेपाल र भारतका दुई सत्तारूढ दलका प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ ।
भेटवार्ता मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको थियो । ‘भाजपालाई जानौँ’ अभियानअन्तर्गत भाजपा अध्यक्ष नवीनको निमन्त्रणमा रवि सोमबार नयाँ दिल्ली पुगेका थिए ।
रविलाई मुख्यालयमा स्वागत गर्दै भाजपा अध्यक्ष नवीनले भारत र नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धका बारेमा आफ्नो धारणा राखेका थिए । भेटवार्तामा भाजपा अध्यक्षले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, सांस्कृतिक बन्धन र जनता–जनताबीचको बलियो सम्बन्धमा आधारित रहेको जनाएका थिए ।
“यस्ता अन्तरक्रियाले भाजपा र रास्वपाबीच लोकतान्त्रिक संवादलाई सुदृढ पार्न र पार्टी–पार्टी सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्दछ,” भेटवार्तामा भाजपा अध्यक्ष नवीनले भनेका थिए ।
भाजपाले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार भेटवार्तामा अध्यक्ष नवीनले भाजपाको यात्रा, विचारधारा, संगठनात्मक संरचना र राजनीतिक संलग्नताको लागि यसको जनता–केन्द्रित दृष्टिकोणबारे रविलाई जानकारी गराएका थिए ।
अध्यक्ष नवीनले भेटमा भाजपाको तल्लो तहदेखि राष्ट्रियस्तरसम्म संगठनात्मक संरचनाबारे पनि जानकारी दिएका थिए ।
भेटमा रास्वपा सभापति लामिछानेले भाजपाको सदस्यता प्रक्रिया, उमेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्ताहरूलाई पहिचान र सम्पर्क गर्न पार्टीको संयन्त्रको बारेमा जान्ने जिज्ञासा राखेका थिए । त्यसपछि भाजपा अध्यक्ष नवीनले लोकतान्त्रिक प्रक्रियामा आमनागरिकहरूको सहभागितामार्फत भाजपाको संगठनात्मक शक्ति कसरी निर्माण हुन्छ भनेर व्याख्या गरेका थिए ।
भेटमा अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अघि बढिरहेको विकास–उन्मुख शासन मोडेलबारे पनि प्रकाश पारेका थिए । विकास, सेवा, सुशासन र कल्याणकारी वितरण भाजपाको जनसम्पर्क र शासन दृष्टिकोणको केन्द्रबिन्दु रहेको नवीनको भनाई थियो ।
भेटमा रवि र नवीन दुवै नेताले राजनीतिमा जेनजीको बढ्दो भूमिका र सम्भावना, विशेष गरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्वलाई आकार दिने बारेमा पनि छलफल भएको भाजपाको विज्ञप्तिमा उल्लेख छ ।
भेटवार्तामा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद संजय जयसवाल, सांसद बाँसुरी स्वराज र भाजपाका विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाईवाले सहभागी थिए ।
रविको नेतृत्वमा गएको रास्वपाको प्रतिनिधिमण्डलले पार्टी मुख्यालयमा रहेको भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेको थियो ।
भेटवार्तापछि भाजपाले रास्वपा सभापति रविको सम्मानमा दिवा भोजको आयोजना गरेको थियो । उक्त कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, मनोज तिवारी, प्रवीण खण्डेलवाल, बाँसुरी स्वराज, हर्ष मल्होत्रा र रामवीर सिंह बिधुरी पनि सहभागी थिए ।





प्रतिकृया दिनुहोस्