आइपिएल : आरसिबी प्लेअफमा, दिल्लीको प्लेअफ आशा कायमै

काठमाडौं : रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुगेको छ। आइतबार धर्मशालामा भएको खेलमा पञ्जाब किंग्स लाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको हो।
पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो।
आरसिबीका लागि वेंकटेश अय्यरले अविजित ७३ रन बनाए। त्यस्तै विराट कोहली ले ५८ रन र देवदत्त पडिक्कल ले ४५ रन जोडे।
पञ्जाबका लागि शशांक सिंह ले २७ बलमा ५६ रन बनाए भने कुपर कोनोली ले ३७ रन जोडे। बलिङतर्फ आरसिबीका रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमार ले २ विकेट लिए।
आरसिबीले पावरप्लेमा राम्रो सुरुआत गर्यो। पडिक्कलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ३ छक्का र ४ चौका प्रहार गरे। कोहली ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लयमा देखिए।
पावरप्ले सकिँदा आरसिबीले १ विकेट गुमाएर ६१ रन बनाएको थियो। कोहलीले यस सिजनमा ५ सय रन पूरा गर्दै अर्को अर्धशतक पनि बनाए। उनले पडिक्कलसँग मिलेर दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे।
यो सिजनमा सीमित अवसर पाएका वेंकटेश अय्यरले यस खेलमा मौका पाएपछि उत्कृष्ट प्रदर्शन गरे। उनले ४० बलमा अविजित ७३ रन बनाउँदै टोलीलाई ठूलो स्कोरतर्फ पुर्याए।
उनको इनिङका कारण आरसिबीले २ सय रन पार गर्यो। अन्तिम ओभरहरूमा टिम डेभिड ले पनि छिटो २८ रन जोडे।
२ सय २३ रनको लक्ष्य पछ्याएको पञ्जाबले निकै खराब सुरुआत गर्यो। भुवनेश्वर कुमार र रसिख सलामको उत्कृष्ट बलिङका कारण पञ्जाब ४ ओभरभित्रै ३ विकेट गुमाउँदै १९ रनमा सीमित भयो।
पछि शशांक सिंहले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५६ रन बनाए। उनले केही छक्का प्रहार गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर आवश्यक रनरेट बढ्दै गएकाले पञ्जाब लक्ष्यसम्म पुग्न सकेन।
यो हारसँगै पञ्जाबले लगातार छैटौँ खेल गुमाएको छ। सिजनको सुरुआत राम्रो गरेको पञ्जाब अहिले प्लेअफ पुग्ने सम्भावना जोखिममा परेको छ।
साविक विजेता आरसिबी भने यो जितसँगै आइपिएल २०२६ को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
दिल्लीको प्लेअफ आशा कायमै
दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा आइतबार राति भएको खेलमा दिल्लीले ४ बल बाँकी हुँदा लक्ष्य भेट्टायो।
१ सय ९४ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएर पूरा गर्यो।
दिल्लीको जितमा केएल राहुलले ५६ रन र अभिषेक पोरेलले अर्धशतक बनाए । राहुलले ५६ र अभिषेकले ५१ रन जोडे। अन्त्यतिर अक्षर पटेल र आशुतोष शर्माले संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए।
यसअघि टस जितेर बलिङ रोजेको दिल्लीले सुरुमा केही दबाब झेल्यो।
वैभव सूर्यवंशीले २१ बलमा ४६ रन र रियान परागले २६ बलमा ५१ रन बनाएपछि राजस्थान १४ ओभरमा १६०/२ को बलियो अवस्थामा पुगेको थियो।
त्यतिबेला राजस्थानले २२० रन नजिक पुग्ने सम्भावना देखिएको थियो।
तर मिचेल स्टार्कले १५औँ ओभरमा ३ विकेट लिँदै खेलको मोड बदलिदिए। त्यसपछि राजस्थानको इनिङ्स सुस्त बन्यो।
अन्तिम ६ ओभरमा राजस्थानले केवल ३३ रन मात्रै जोड्न सक्यो र ८ विकेट गुमाएर १ सय ९३ रनमा रोकियो।दिल्लीका लागि स्टार्क ४, लुङ्गी एनगिडी र माधव तिवारीले समान २ विकेट लिए।
राजस्थानका यशस्वी जायसवालले पहिलो ओभरमै स्टार्कलाई तीन चौका प्रहार गर्दै टोलीलाई राम्रो सुरुआत दिलाए। अर्कोतर्फ वैभव सूर्यवंशीले आफ्नो पहिलो बलमै छक्का प्रहार गरे। पछि ध्रुव जुरेलले पनि आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई पावरप्लेमा १ विकेट गुमाएर ७५ रन पुर्याए।
सूर्यवंशी आउट भएपछि रियान परागले आक्रामक खेल जारी राखे। उनले २३ बलमै अर्धशतक पूरा गरे, जुन उनको आईपीएल करियरकै सबैभन्दा छिटो अर्धशतक बन्यो।
लक्ष्य पछ्याएको दिल्लीका केएल राहुल र अभिषेक पोरेलले उत्कृष्ट सुरुआत दिलाए। यी दुईले ६ ओभरमा ७२ रन बिना विकेट बनाए। यो दिल्लीको यस सिजनको सबैभन्दा राम्रो पावरप्ले प्रदर्शन बन्यो।
दिल्ली ७ ओभरमा ८५ रनमा थियो। तर त्यसपछि ७ ओभरमा केवल ४५ रन मात्र बनेपछि खेल केही समय सुस्त भयो। अभिषेक पोरेलले २९ बलमा अर्धशतक बनाए पनि त्यसपछि आउट भए।
केएल राहुल पनि ४२ बलमा ५६ रन बनाएर आउट भए।
१४ ओभरपछि दिल्लीलाई ६४ रन चाहिन्थ्यो।
अन्तिम ओभरतिर अक्षर पटेल ३४ रन जोडे। १९औँ ओभरमा डेभिड मिलर ९ रनमा आउट भएपछि आशुतोष शर्मा क्रिजमा आए। उनले आएको दोस्रो बलमै छक्का प्रहार गर्दै खेल दिल्लीको पक्षमा लगे।
अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा आशुतोषले चौका र छक्का प्रहार गर्दै दिल्लीलाई शानदार जित दिलाए।






प्रतिकृया दिनुहोस्