बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

डोटी : डोटी बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।
मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुने क्रममा सडकबाट करिब तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनामा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटा खुट्टा र कम्मरमा चोट लागेर मध्यम घाइते भएका छन्।
त्यस्तै, घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी टाउको र ढाडमा गम्भीर चोट लागेर गम्भीर अवस्थामा रहेका छन्। बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद टाउको, अनुहार र ढाडमा चोट लागेर गम्भीर घाइते भएका छन् भने अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा टाउको, हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस्