बाजुरामा ढुंगा प्रहार गरेर एक युवकको हत्या

धनगढी : बाजुरामा एक युवकको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी सर्वाशको हत्या गरेका हुन् । उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ ।
बुढाको घटनास्थलमै मृत्यु भएको एसएसपी विष्टले बताए । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोली घटनास्थल पुगेर धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्