एमालेमा नेतृत्वमाथिको दबाब तत्काल टर्यो : अध्यक्षको राजीनामा नलेखिने, विशेष महाधिवेशन पनि नबोलाइने

काठमाडौँ । निर्वाचन परिणामपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएका बेला निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तत्काल नेतृत्व पुनर्गठनको प्रस्ताव अघि नबढाउने गरी साझा प्रतिवेदन तयार गरेको छ। कार्यदलले अध्यक्षको राजीनामा माग्ने वा हटाउने विषयलाई प्रतिवेदनबाट हटाउँदै पार्टीभित्रको विवादलाई तत्काल नेतृत्व परिवर्तनतर्फ नलैजाने निष्कर्ष निकालेको हो।
यसअघि कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल र सचिव प्रदीप ज्ञवालीका छुट्टाछुट्टै मस्यौदा आएका थिए। निर्वाचन परिणामको समीक्षा गर्ने क्रममा नेतृत्वले जिम्मेवारी लिने कि तत्काल मार्ग प्रशस्त गर्ने भन्ने विषय कार्यदलभित्र मुख्य राजनीतिक विवाद बनेको थियो।
आइतबार बसेको बैठकले तीनवटै मस्यौदा तथा विभिन्न समूहबाट आएका सुझावलाई समेटेर एउटै साझा प्रतिवेदन तयार गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन्। उनका अनुसार कार्यदलले प्रतिवेदन सचिवालयमा बुझाउनेछ र त्यसपछि आवश्यक निर्णय पार्टी सचिवालयले गर्नेछ।
तर कार्यदलका सचिव महेश बस्नेतले साझा प्रतिवेदनमा अध्यक्षको राजीनामा वा नेतृत्व हटाउने विषय नराख्ने सहमति भएको दाबी गरेका छन्। उनका अनुसार अब अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा त्यससम्बन्धी विषयलाई औपचारिक दस्तावेजमा अघि बढाउने अवस्था नरहेको छ।
‘अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने भन्ने कुरा भ्रामक हो,’ बस्नेतले भने, ‘अब अध्यक्षको राजीनामा कहीँ–कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने र अध्यक्षको आलोचना कसैले कहीँ–कतै नगर्ने सहमति भएको छ।’
कार्यदलको यो निष्कर्षले निर्वाचन परिणामपछि एमालेभित्र उठेको नेतृत्व परिवर्तनको बहसलाई तत्कालका लागि पार्टीको औपचारिक निर्णय प्रक्रियाबाट पर धकेलेको छ। यद्यपि नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको प्रश्न उठ्न सक्ने सम्भावनालाई भने कार्यदलले अस्वीकार गरेको छैन।
बस्नेतले तत्काल विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने निर्णय नभएको बताए। ‘कम्युनिस्ट पार्टीभित्र नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको कुरा आउनु स्वाभाविक हो,’ उनले भने, ‘विधान महाधिवेशनमा विगतका निर्णयहरूबारे छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्न सकिन्छ।’
कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णयसमेत गरेको छ। उक्त बैठकलाई पार्टीको एकता प्रदर्शन गर्ने र वर्तमान सरकारको कार्यशैलीविरुद्ध राजनीतिक अभियान अघि बढाउनेगरी उपयोग गर्ने सहमति भएको बस्नेतले बताए।
प्रतिवेदनमा विभिन्न १३ समूहबाट आएका सुझावलाई समेत समेटिएको बताइएको छ। अब साझा प्रतिवेदन एमाले सचिवालयमा पेस हुनेछ। सचिवालयले त्यसलाई अन्तिम रूप दिएपछि सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफलका लागि लैजाने तयारी छ।
एमाले सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। निर्वाचन परिणाम, पार्टी पुनर्गठन, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र आगामी राजनीतिक रणनीतिबारे कार्यदलको निष्कर्षपछि अब एमालेको औपचारिक निर्णय केन्द्रीय कमिटीबाट आउनेछ।




प्रतिकृया दिनुहोस्