November 5, 2026, Thursday
२०८३ कार्तिक २०

१५औँ पटक विज्ञापन गर्दा पनि भेटिएनन् विज्ञान शिक्षक

बैतडी । पञ्चेश्वर गाउँपालिका–२ स्थित देवथला माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन सकेको छैन। शिक्षक खोज्न विद्यालयले गत शैक्षिक सत्रको मंसिरदेखि अहिलेसम्म १४ पटक विज्ञापन गरिसकेको छ। तर, योग्य उम्मेदवारको आवेदन नपरेपछि विद्यालयले भदौ ३० गते १५औँ पटक १५ दिने सूचना प्रकाशित गरेको छ।

विद्यालयका प्रधानाध्यापक शुक्रबहादुर चन्दका अनुसार यसअघि कार्यरत विज्ञान शिक्षक घरपायक सरुवा भएर गएपछि पद रिक्त भएको हो। त्यसयता पटकपटक विज्ञापन गर्दा पनि अध्यापन अनुमतिपत्रसहितका योग्य विज्ञान शिक्षक सम्पर्कमा नआएको उनले बताए।

‘अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका धेरै जना सम्पर्कमा आउँछन्,’ चन्दले भने, ‘तर लाइसेन्स भएको विज्ञान शिक्षक भने कोही पनि सम्पर्कमा आउँदैनन्।’

विज्ञान शिक्षक नहुँदा विद्यालयले निम्न माध्यमिक तहका एक जना बीएस्सी तथा गणित शिक्षकबाट माध्यमिक तहको विज्ञान विषय पढाउनुपर्ने बाध्यता छ। विद्यालयका लेखापाल जीवनसिंह मंगोलाका अनुसार सुरुमा एक महिनाको समय दिएर विज्ञापन गरिएको थियो। त्यसपछि एक साता र पछिल्लो समय हरेक १५ दिनमा विज्ञापन गर्नुपर्ने अवस्था आएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण चन्दका अनुसार विद्यालय सदरमुकामबाट दुर्गम तथा भारतसँग सीमा जोडिएको क्षेत्रमा रहे पनि सडक, विद्युत् र इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध छन्। शिक्षकलाई आकर्षित गर्न संघीय अनुदानअन्तर्गतको तलबसँगै बसोबासको व्यवस्थासमेत गर्दा पनि विज्ञान शिक्षक पाउन र टिकाउन कठिन भएको उनले बताए।

संघीय अनुदानअन्तर्गत कार्यरत शिक्षकका लागि सरकारले मासिक ४८ हजार रुपैयाँ तलबभत्ता तोकेको छ। सुविधा र तलबको व्यवस्था हुँदाहुँदै पनि योग्य विज्ञान शिक्षक नपाइनुले दुर्गम क्षेत्रका विद्यालयमा विषयगत शिक्षक अभावको समस्या झल्काएको विद्यालयका पदाधिकारीको भनाइ छ।

विसं २०१४ सालमा स्थापना भएको देवथला माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। प्राथमिक तहमा तीन स्थायी दरबन्दी रहेको विद्यालयमा पालिका अनुदान र संघीय अनुदानबाट गरी १३ जना शिक्षक कार्यरत छन्।

पञ्चेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख महामल घटालका अनुसार गाउँपालिकाका अन्य विद्यालयले पनि विज्ञान शिक्षक पाउन तीन–चार पटकसम्म विज्ञापन गर्नुपर्ने अवस्था छ। अहिले अन्य विद्यालयमा पदपूर्ति भए पनि देवथलामा भने समस्या कायमै रहेको उनले बताए।

‘विज्ञान शिक्षक पाए पनि विद्यालयमा लामो समयसम्म नबसी जाने गरेका छन्,’ घटालले भने, ‘पटकपटक परीक्षा सञ्चालन गर्दा विद्यालयको व्ययभार बढ्छ भने शिक्षकले छाडेर गएपछि पुनः शिक्षक पाउन झन् गाह्रो हुन्छ।’

विज्ञान शिक्षक अभावको समस्या देवथलामा मात्र सीमित नभएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख दशरथ भट्टले बताए। उनका अनुसार दोगडाकेदार गाउँपालिकाका केदार माध्यमिक विद्यालय र सनातन धर्म माध्यमिक विद्यालयले पनि विज्ञान शिक्षकका लागि पटकपटक विज्ञापन गर्दा आवेदन नपाएको अवस्था छ।