निर्वाचनको मुखमा देउवा दम्पती मुलुक बाहिर, चुनावअघि फर्कने

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर छन् । उपचारका निम्ति बुधबार (फागुन १३) राति देउवा सिंगापुर तर्फ प्रस्थान गरेका छन् । भने आरजु विगत ५ दिनदेखि छिमेकी राष्ट्र भारत भ्रमणमा रहेको सचिवालयले जनाएको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते भएका देउवा स्वास्थ्योपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए । त्यो बेला १८ दिन उपचार गरेर कात्तिक २८ गते नेपाल फर्किएका देउवा फेरि फलोअपका लागि सिंगापुर उडेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् । उनी यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् । “नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो,” सचिवालय स्रोतले भन्यो, “चार दिनपछि फर्कनुहुनेछ ।”
यता देउवा पत्नी आरजु भने विभिन्न मठ मन्दिरमा पुजाँआजाका लागि विगत ५ दिनदेखि भारत भ्रमणमा छिन् । उनको भारतको उज्जेनमा अवस्थित महाकालेश्वर मन्दिरमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ । उनी अझै ५ दिनजति भारतमै रहने निकट स्रोतले जानकारी दियो ।
‘जेनजी’ आन्दोलन र पार्टीको विशेष महाधिवेशनपश्चात् राजनीतिक रूपमा सक्रिय नरहेका देउवाले निर्वाचन र कांग्रेस उमेदवारका विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले ०४८ देखि ०७९ सालसम्म डडेलधुराबाट लगातार आमनिर्वाचन जितेका थिए ।





प्रतिकृया दिनुहोस्