February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

दार्चुलामा श्रीमती जिस्काएको भन्दै प्रहरी हवलदारको हत्या, आरोपमा तीन जना पक्राउ

धनगढी : दार्चुलामा एक नेपाल प्रहरी हवल्दारको हत्या भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ मा श्रीमतीलाई जिस्काएको भन्दै सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको हो ।

प्रहरीका अनुसार हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले दिएको जानकारी अनुसार सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् ।

प्रहरी हवलदार घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी विष्टले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना भने फरार भएका छन् । फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन् ।

पक्राउ परेकी दिपिका भने आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान् आशिकले प्रहरी हवलदार घर्तीमाथि कुटपिट गरेका थिए ।

पक्राउ परेकाहरूले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिए पनि त्यसबारे परीक्षणको काम भइरहेको जनाएको छ ।

एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनापछि फरार रहेकाहरूको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।