February 3, 2026, Tuesday
२०८२ माघ २०

कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएको हो ।

सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन नेताहरूलाई खटाएको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले बताएकि हुन ।

नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ । निर्वाचन परिचालन समितिले सातै प्रदेशमा नेताहरूलाई पार्टीको जनमत बुझ्न पठाएको र आफू त्यसक्रममा कोशी प्रदेशमा खटिएको पन्तले जानकारी दिइन् ।

‘पार्टीले निर्वाचन परिचालन समितिमार्फत जनमत बुझ्न प्रदेश प्रदेशमा नेताहरूलाई खटाएको छ । म पनि कोशी प्रदेशमा खटिएकी छु,’ सहमहामन्त्री डा. संग्रौलाले भनिन्, ‘हामीले प्रदेशगत रूपमा वस्तुस्थिति बुझेर जानकारी गराउँछौँ ।’

डा. संग्रौलाका अनुसार कोशीमा उनीसहित निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, कोशीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू खटिएका छन् । आफू ओखलढुङ्गाको वस्तुस्थिति बुझेर मोरङमा पुगेको संग्रौलाले बताइन् ।

मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू तथा पूर्वपदाधिकारीहरूले वस्तुस्थिति बुझ्ने काम गरिरहेका छन् । मधेसमा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विमलेन्द्र निधि प्रत्यक्षतर्फ निर्वाचन लडिरहेका छन् । यादव धनुषा–४ र निधि धनुषा–३ मा उम्मेदवार छन् ।

बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह लामाको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरूसहितका नेताहरू खटिएका छन् ।

गण्डकी प्रदेशमा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र अब्दुल सतारको नेतृत्वमा लुम्बिनी प्रदेशमा सहमहामन्त्री योगेन्द्र चौधरीले पुराना र नयाँ नेताहरूसँग समन्वय गरेर वस्तुस्थिति बुझ्ने काम गरिरहेका डा. संग्रौलाले जानकारी दिइन् । चौधरी आफै दाङ–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

कर्णालीमा सहमहामन्त्री कर्णबहादुर बुढासँग समन्वय गरेर केन्द्रीय सदस्य जानकी सिंहलाई वस्तुस्थिति बुझ्ने कामको नेतृत्व गर्नेछिन् । बुढा आफू प्रत्यक्षतर्फको उम्मेदवार छन् । उनी डोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

सुदुरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यहरू भरत खड्का र हिम रावलसहितका नेताहरूलाई खटाइएको छ । खटाइएका नेताहरूले प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा एक चरणको छलफल गरेर बस्तुस्थितबारे केन्द्रमा जानकारी गराउने र केन्द्रले त्यही अनुसारको कार्यक्रम तय गरेर पुनः जाने तयारी रहेको डा. संग्रौलाले जानकारी दिइन् ।